सुनकोशी समाचार
सिन्धुपाल्चोक, साउन १९ — सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा प्रवर्द्धन गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरी,सिन्धुपाल्चोकले अरनिको राजमार्ग अन्तर्गत दुर्घटनाको उच्च जोखिम रहेका (ब्ल्याक स्पट) सहित विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक बोर्ड स्थापना गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामकुमार थापाका अनुसार बनेदेउदेखि अरनिको राजमार्ग सडक खण्डका विभिन्न संवेदनशील क्षेत्रमा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ, सुकुटेको समन्वय तथा सहयोगमा आठ वटा ट्राफिक सचेतनामूलक बोर्ड जडान गरिएको हो।
उक्त बोर्डहरूमा तीव्र गति नियन्त्रण, सुरक्षित ओभरटेक, सिटबेल्ट तथा हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउने लगायतका सडक सुरक्षा सम्बन्धी सन्देश समावेश गरिएको छ।
ट्राफिक प्रमुख थापाले सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न पूर्वसचेतना अत्यन्त प्रभावकारी हुने उल्लेख गर्दै स्थानीय तह, संघसंस्था र नागरिकको सहकार्यबाट यस्ता अभियानलाई थप विस्तार गरिने जानकारी दिए।
अरनिको राजमार्ग देशको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक तथा पर्यटकीय मार्गमध्ये एक भएकाले यस सडक खण्डमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षा सुदृढ बनाउनु आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। स्थानीय समुदाय र पर्यटन व्यवसायीको सहकार्यमा सञ्चालन गरिएको यो अभियानले सडक सुरक्षा सचेतना अभिवृद्धि गर्दै सम्भावित दुर्घटना न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
सवारी दुर्घटना न्यूनीकरण अभियान: अरनिको राजमार्गका ब्ल्याक स्पटमा ट्राफिक सचेतनामूलक बोर्ड स्थापना
