Breaking
Sat. Mar 14th, 2026

साझा पावर कम्पनीले ढुङ्गा तस्करी गरेको आरोप, ढुङ्गासहितको टिपर नियन्त्रणमा

सिन्धुपाल्चोक, चौतारा।
सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन जलविद्युत आयोजनाले स्थानीयलाई असर पर्ने गरी ढुङ्गा अवैध रूपमा तस्करी गरिएको आरोपमा स्थानीयले ढुङ्गासहितको टिपर नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्।
चौतारा साँगाचोकगढी नगरपालिका–२ मा निर्माणाधीन साझा पावर कम्पनी लिमिटेडको जलविद्युत आयोजना क्षेत्रबाट खोलामा रहेको ढुङ्गा अवैध रूपमा बाहिरी ठेकेदारलाई बिक्री भइरहेको अवस्थामा स्थानीयले रंगेहात फेला पारे पछि टिपर नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय जलबिरेमा बुझाइएको हो।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सुदिप श्रेष्ठ सहित स्थानीय बासिन्दाहरूको उपस्थितिमा ढुङ्गा तस्करी भइरहेको पुष्टि भएको स्थानीय आन्दोलनका अगुवा सुगम लामाले जानकारी दिनुभयो। उहाँका अनुसार आयोजनास्थलको खोलाबाट उत्खनन गरिएको ढुङ्गा ग्याबियन वाल निर्माणका लागि प्रयोग गर्ने भन्दै बाहिरी ठेकेदारलाई प्रति टिप ७ हजार रुपैयाँका दरले अवैध रूपमा बिक्री भइरहेको छ।
स्थानीयका अनुसार दिनको १२ देखि १५ टिपसम्म ढुङ्गा लुकिछिपी बिक्री हुँदै आएको र यस्तो कार्य १५–२० महिनादेखि निरन्तर भइरहेको चालक स्वयंले स्वीकार गरेको दाबी गरिएको छ। नियन्त्रणमा लिइएको टिपरका चालकले लामो समयदेखि यसरी ढुङ्गा ओसारपसार भइरहेको बताएको स्थानीयको भनाइ छ।
उक्त ढुङ्गा तस्करी भइरहेको स्थान साझा पावर कम्पनी लिमिटेडको जलविद्युत आयोजनाको हेडवर्क क्षेत्र अन्तर्गत पर्ने काम सिन्धुपाल्चोक जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष दिपेन्द्र थापाको ठेक्कामा काम भईरहेको थियो।थापाले अन्य ठेकेदारलाई ग्याबिन वाल तथा सडक निर्माणकार्यहरूमा बिक्री गरी रहेको स्थानीयको आरोप छ।
घटनापछि स्थानीयले अवैध उत्खनन र तस्करी तत्काल रोक्न, दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *