सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज )
सिन्धुपाल्चोक । नेपाली कांग्रेसको देउवा समूहले आगामी असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनदेखि जिल्ला अधिवेशनसम्मको अभियान सञ्चालनको जिम्मेवारी सिन्धुपाल्चोकमा लालकाजी तामाङलाई दिएको छ।
तामाङलाई अधिवेशन परिचालन तथा प्रचार–प्रसार समितिको संयोजकको जिम्मेवारी दिइएसँगै सिन्धुपाल्चोकमा देउवा समूहका अधिवेशनसम्बन्धी गतिविधि उनकै नेतृत्वमा अघि बढ्ने भएको हो।
वडा तहबाट सुरु हुने अधिवेशनलाई पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशनसम्म व्यवस्थित रूपमा सम्पन्न गराउने जिम्मेवारी तामाङको काँधमा आएको छ। अधिवेशनको तयारी, प्रचार–प्रसार, कार्यकर्ता परिचालन तथा विभिन्न तहबीच समन्वय कायम गर्न उनको भूमिका महत्वपूर्ण हुने कांग्रेस नेताहरू बताउँछन्।
तामाङले पाएको जिम्मेवारीसँगै सिन्धुपाल्चोक कांग्रेसको आगामी नेतृत्वलाई लिएर पार्टीभित्र नयाँ चर्चा पनि सुरु भएको छ। अधिवेशनलाई वडा तहदेखि जिल्ला तहसम्म सम्पन्न गराउने नेतृत्वदायी भूमिकामा रहेका तामाङ स्वयं जिल्ला सभापतिको उम्मेदवार बन्ने सम्भावनाबारे कांग्रेसभित्र चर्चा हुन थालेको हो।
यद्यपि, तामाङले जिल्ला सभापतिमा उम्मेदवारी दिने वा नदिने विषयमा हालसम्म औपचारिक घोषणा गरेका छैनन्। अधिवेशन सम्पन्न गराउने जिम्मेवारी पूरा गरेर पार्टी नेतृत्वको जिम्मेवारी अन्य व्यक्तिलाई हस्तान्तरण गर्ने विकल्पमा समेत उनी रहन सक्ने कांग्रेसभित्र चर्चा छ।
त्यसैले तामाङको वर्तमान भूमिका केवल अधिवेशन सम्पन्न गराउने संयोजकका रूपमा सीमित रहने हो वा उनी आगामी जिल्ला नेतृत्वका सम्भावित दाबेदारका रूपमा समेत अघि बढ्ने हुन् भन्ने विषय अहिले सिन्धुपाल्चोक कांग्रेसभित्र चासोको विषय बनेको छ।
असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनसँगै तामाङको संगठन परिचालन, समन्वय क्षमता र आगामी जिल्ला नेतृत्वप्रतिको भूमिकालाई कांग्रेस कार्यकर्ताले नजिकबाट नियाल्ने भएका छन्।
यसबीच, अधिवेशनको प्रक्रिया अघि बढ्दै जाँदा सिन्धुपाल्चोक कांग्रेसको आगामी नेतृत्वका लागि आकांक्षीहरूको सक्रियता पनि बढ्ने देखिएको छ।
