सुनकोशी समाचार
सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको बनदेवी पोलिक्लिनिक प्रा.लिले सञ्चालन गर्दै आएको एम्बुलेन्स १० लाख रुपैयाँमा बिक्री गरी जनकपुर पुर्याइएको भन्दै सिन्धुपाल्चोकका युवाहरूले विरोध जनाएका छन्।
सिन्धुपाल्चोकबाटै सञ्चालन हुँदै आएको बनदेवी पोलिक्लिनिकको एम्बुलेन्स जिल्लावासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उपयोगी हुने अपेक्षा गरिएको थियो। तर, उक्त एम्बुलेन्स १० लाख रुपैयाँमा बिक्री गरी जनकपुर पुर्याइएको खबर सार्वजनिक भएपछि स्थानीय युवाहरूले असन्तुष्टि व्यक्त गरेका हुन्।
सिन्धुपाल्चोककै नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने एम्बुलेन्स जिल्ला बाहिर बिक्री गरिनु दुःखद् भएको युवाहरूको भनाइ छ। स्थानीय जनताको आवश्यकताका लागि सञ्चालन हुँदै आएको एम्बुलेन्स अन्यत्र पुर्याइनुले जिल्लावासीले पाउनुपर्ने स्वास्थ्य सेवामा असर पर्ने उनीहरूको गुनासो छ।
युवाहरूले एम्बुलेन्स बिक्री गर्नुको कारण सार्वजनिक गर्न तथा यस विषयमा सम्बन्धित निकायले आवश्यक छानबिन गर्नुपर्ने माग गरेका छन्। सिन्धुपाल्चोककै जनताको सुविधाका लागि सञ्चालन गरिएको एम्बुलेन्स जिल्लामै रहनुपर्ने उनीहरूको जोड छ।
यस घटनाले स्थानीय स्वास्थ्य सेवासँग जोडिएका साधनस्रोतको उपयोग र व्यवस्थापनबारे प्रश्न उठाएको छ।
