सुनकोशी समाचार
सिन्धुपाल्चोक। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) निरञ्जनदत्त भट्टले जिम्मेवारी सम्हाल्नुभएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार सरुवा भई आउनुभएका एसपी भट्टले मंसिर ७ गतेदेखि जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको हो।
नयाँ कार्यालय प्रमुखका रूपमा हाजिर हुनुभएका भट्टलाई जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) जेसी शाहसहित वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीहरूले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका एसपी भट्टका सामु जिल्लाको शान्तिसुरक्षा कायम राख्ने, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउने, नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने र संगठनको आन्तरिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने चुनौती र जिम्मेवारी रहेका छन्।
त्यसैगरी, जिल्लाको सुरक्षा चुनौती पहिचान गरी मातहतका प्रहरी इकाइलाई प्रभावकारी रूपमा परिचालन गर्ने, नागरिक र प्रहरीबीचको सम्बन्ध थप सुमधुर बनाउने तथा प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्ने विषय उहाँको कार्यकालका महत्वपूर्ण प्राथमिकता रहने अपेक्षा गरिएको छ।
