Breaking
Tue. Oct 21st, 2025

लामोसाघु बचत तथा ऋण सहकारीको १६औं वार्षिक साधारण सभा सम्पन्न

सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज )

२१.५ करोड पुँजी सहित संस्थाले वित्तीय रूपमा सुदृढ प्रगति गरेको घोषणा
सिन्धुपाल्चोक, असोज २६ र २७ गते – लामोसाघु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६औं वार्षिक साधारण सभा एकाईगत रुपमा भव्य समारोहबीच सम्पन्न गरेको छ। सहकारीको हालसम्मको प्रगति, चुनौती र आगामी रणनीतिलाई प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ रहनु भयो भने कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष पूर्णचन्द्र ढकालले गर्नुभएको थियो।
सभामा संस्थाका व्यवस्थापक रबिन सुनारले संस्थाको हालको वित्तीय स्थितिबारे विस्तृत जानकारी प्रस्तुत गर्दै सहकारीले उल्लेखनीय प्रगति गरेको जानकारी दिनुभयो। ४,००० भन्दा बढी शेयर सदस्य रहेको संस्थाले जम्मा २१ करोड रुपैयाँको पुँजी संकलन गरेको छ, यो उपलब्धि संस्थाको पारदर्शिता, सदस्यहरूको विश्वास र सुशासनमा आधारित सहकार्यको परिणाम हो।
“हाम्रो सहकारीले पारदर्शिता, उत्तरदायित्व र सदस्य–केन्द्रित सेवा प्रवाहलाई आधार मानेर अघि बढिरहेको छ। विगत वर्षमा हामीले आर्थिक स्थायित्व कायम गर्दै थप विस्तारका कार्यक्रमहरू अघि सारेका छौं,” व्यवस्थापक सुनारले बताउनुभयो।
अध्यक्ष पूर्णचन्द्र ढकालले सहकारीको १६ वर्षे यात्रामा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै आगामी दिनमा सदस्यहरूको आर्थिक सशक्तिकरण, सेवा पहुँच विस्तार र डिजिटल प्रणालीमार्फत सेवा प्रवाहलाई सरल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रमुख अतिथि गंगा बहादुर तामाङले सहकारीलाई स्थानिय विकासको मेरुदण्ड भन्दै यसले आर्थिक समावेशीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले सहकारीहरूले विशेषगरी ग्रामीण क्षेत्रका विपन्न वर्गलाई वित्तीय सेवामा पहुँच दिलाउन र आत्मनिर्भरता हासिल गर्न उत्प्रेरित गर्ने कुरा जोड दिनुभयो।
सभामा गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, बार्षिक प्रगति विवरण, भावी योजना, बजेट तथा कार्यक्रमहरू पारित गरियो। सदस्यहरूको तर्फबाट विभिन्न सुझाव, प्रश्‍न तथा छलफलले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो।
संस्थाले हाल कृषि, पशुपालन, साना उद्यम कर्जा, व्यवसायिक ऋण, विपद् राहत कोष, महिला उद्यमशीलता प्रवर्धन कार्यक्रम लगायतका विविध सेवामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराइएको थियो।
सहकारीको भावी रणनीति
डिजिटल सेवा प्रणालीको प्रवर्द्धन
ग्रामीण क्षेत्रमा वित्तीय साक्षरताको अभिवृद्धि
महिला, युवा र साना उद्यमी लक्षित कार्यक्रम विस्तार
दीर्घकालीन बचत योजनाको सुदृढीकरण
सभा अन्त्यमा संस्थाका सचिव नेत्र प्रसाद पराजुलीले  धन्यवाद ज्ञापन गर्दै सदस्यहरूको निरन्तर साथ र सहकार्यले सहकारीलाई राष्ट्रिय स्तरको आदर्श संस्थाको रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *