सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज)
सिन्धुपाल्चोक, भदौ ७
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकामा कृषकलाई सहुलियतमा वितरण गरिएको हाते ट्र्याक्टर सम्बन्धी गम्भीर अनियमितता भएको खुलासा भएको छ। स्थानीय तहले केही महिना अगाडि किसानको कृषि उत्पादनमा सहजता ल्याउने उद्देश्यले करिब ६०० भन्दा बढी हाते ट्र्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो।
तर, वितरणपछिको अवस्थाको अध्ययन गर्दा तीमध्ये कैयौं ट्र्याक्टर वास्तविक किसानको हातमा नपरेको, प्रयोगमा नआएको, र कतिपय अवस्थामा त अन्य पालिकाका व्यक्तिलाई महँगो मूल्यमा बेचिएको तथ्य फेला परेको छ।
स्थानीय स्रोतका अनुसार, केही सरकारी कर्मचारी र स्थानिय दलालको मिलेमतोमा नक्कली किसान बनाएर १२,६४८ रुपैयाँमा उपलब्ध गराइएका हाते ट्र्याक्टर १५ हजारदेखि २० हजार सम्ममा पुनः बिक्री गरिएको छ। साथै, राती राती केही स्थानमा चोरीसमेत भएको जानकारी प्राप्त भएको छ।
कृषकका नाममा वितरण भएको भनिएको ट्र्याक्टर न किसानको घरमा छ, न त खेतमा प्रयोग भएको देखिन्छ, एक स्थानीय कृषकले बताए, हामीले यो विषय गम्भीर बनाउँदै पालिकालाई छानबिनका लागि लिखित निवेदन समेत दिएका छौं।
कृषकहरूले माग गरेका छन् कि पालिकाको कृषि शाखाका कर्मचारीहरूले घर–घरमा गएर वितरण भएका ट्र्याक्टरहरूको अनुगमन गरून् र वास्तविक कृषकको पहिचान सुनिश्चित गरियोस्।
यस विषयमा हालसम्म पाँचभन्दा बढी स्थानीयले गाउँपालिकामा औपचारिक रूपमा छानबिनको माग गर्दै निवेदन दर्ता गराइ सकेका छन्।नक्कली किसानका कारण वास्तविक किसान मर्कामा परेका छन्।
सुनकोशी गाउँपालिकाले यस विषयमा हालसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन। यद्यपि, व्यापक जनचासोका कारण पालिकाले छानबिन प्रक्रिया तत्काल अघि बढाउनुपर्ने माग तीव्र हुँदै गएको छ।
सुनकोशी गाँउपालिकाले वास्तविक किसानको हितका लागि अति आवश्यकता महसुस गरेर कृषिमा आधारीत गाँउका कृषकलाई ५०% अनुदानमा ट्याक्टर,पिठो,धान पिस्ने मिल,र धन,कोदो झारने मेसिन समेत किसानहरूलाई उपलब्ध गराउदै आएको थियो।।
कृषि प्रवर्द्धनको नाममा गरिएको अनुदान वितरण प्रक्रिया पारदर्शी र जवाफदेही नहुँदा सरकारको स्रोत दुरुपयोग हुने खतरा देखिएको छ। यस्तो अवस्थामा संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर दोषी पहिचान गरी कारबाहीको प्रक्रिया अघि बढाउनु आवश्यक छ।