सुनकोशी समाचार
काठमाडौं, २६ भदौ —
सरकारले सिंहदरबारस्थित विभिन्न मन्त्रालयहरूलाई स्थानान्तरण गर्ने कार्य तीव्र बनाएको छ। सोही क्रममा गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसी) सञ्चालन गर्ने तयारी सुरु गरिएको छ।
शुक्रबार बिहान मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा सिंहदरबार क्षेत्रमा गरिएको स्थलगत अनुगमनपछि यो निर्णयको प्रक्रिया अघि बढाइएको हो। सिंहदरबार परिसरमै रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना) नजिक निर्माण सम्पन्न भएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिने तयारी छ।
यो सँगै अहिलेको जीर्ण अवस्थामा रहेको गृह मन्त्रालयको भवनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि प्रयोग गर्ने र त्यसअनुसार हालको शिक्षा मन्त्रालयलाई केशरमहलमा स्थानान्तरण गर्ने योजना अघि सारिएको छ।
मुख्यसचिव अर्यालले सिंहदरबार क्षेत्रको सुरक्षा, कार्यसम्पादन क्षमता र भौतिक पूर्वाधार सुधारका लागि मन्त्रालयहरूको पुनःसंरचना आवश्यक भएको बताए। “सिंहदरबारको कार्यक्षमता वृद्धिका लागि स्थानान्तरण र पुनःव्यवस्थापन अपरिहार्य छ,” उनले भने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नयाँ गृह मन्त्रालयको भवनमा सर्ने।
गृह मन्त्रालय जीर्ण भवनबाट शिक्षा मन्त्रालयको हालको स्थानमा सर्ने।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केशरमहलमा स्थानान्तरण हुने।
सरकारले सिंहदरबार क्षेत्रको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयहरूको व्यवस्थापन पुनःगठन गर्ने नीति लिएको हो। नयाँ संरचना कार्यान्वयन भएपछि सरकारी सेवा प्रवाहमा समेत सुधार आउने अपेक्षा गरिएको छ।
यो कदमसँगै सिंहदरबार क्षेत्रको प्रशासनिक स्वरूपमा ठूलो परिवर्तन आउने देखिन्छ।