सुनकोशी समाचार
कुमान बस्नेत (अधिराज )
सुनकोशी — नेपाल तामाङ मौलिक हवाईला न्हानले आफ्नो तेस्रो अधिवेशन तथा पाँचौं वार्षिक उत्सव आगामी साउन ३१ गते (शनिबार) राजधानीमा भव्यतापूर्वक गर्ने भएको छ। बौद्धस्थित दिपज्योति बैंक्वेट पार्टी प्यालेस, पिपलबोटमा बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा प्रमुख, विशिष्ट तथा विशेष अतिथिहरूको सहभागिता रहनेछ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री तथा बागमती प्रदेश सभा सदस्य तिर्थ लामा हुनेछन् भने विशिष्ट अतिथिका रूपमा भुम्लु गाउँपालिका अध्यक्ष तेजेन्द्रमान तामाङ (दावा लामा), गोकर्णेश्वर नगरपालिका उप–मेयर सान्नानि लामा र सुनकोशी गाउँपालिका उपाध्यक्ष कान्छी लामाको उपस्थित रहनेछ।
संस्थाले सांस्कृतिक सम्पदा संरक्षण, मौलिकता प्रवर्द्धन र तामाङ समुदायबीच आपसी एकता सुदृढीकरणको उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रममा तामाङ जुहारी कलाकार संघ, दाङबोला उयुइठिन तामाङ संघ, सिन्धु चौतारा खान्दोके सेलो ह्यङ्गला, रिमठिम तामाङ डम्फू संघ नेपाल लगायतका सांस्कृतिक समूहहरूको बेजोड प्रस्तुति रहनेछ।
संस्थाले यस अवसरमा विविध सांस्कृतिक कार्यक्रम, मौलिक नृत्य, सेलो, डम्फू प्रस्तुतिसँगै चर्चित कलाकारहरूको विशेष प्रस्तुति पनि प्रस्तुत गरिने जानकारी दिएको छ। आयोजकले सबैलाई कार्यक्रममा उपस्थित भई मौलिकता र संस्कृतिको संरक्षणमा हातेमालो गर्न आग्रह गरेका छन्।
